युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई सो देश छाड्न आदेश दिएको छ। यसले सो मुलुकमा युद्धको खतरा बढेको संकेत गरेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढेको हो । अमेरिकी विदेश मन्त्रालयको एक आदेशमा यस्तो भनेको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ।

उसले अमेरिकी नागरिकहरूलाई युक्रेनबाट बाहिरिन आह्वान समेत गरेको छ। एउटा वक्तव्यमा उसले युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको उल्लेख गरेको छ । रुसले आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ। अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको हो ।

युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन्। शनिवार अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर ुुहातहतियार सहायता युक्रेन पुगेको छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेनप्रति रुसको शत्रुतापूर्ण व्यवहारका कारण अमेरिकाली उक्त देशमाथि चाँडै नै विभिन्न खाले प्रतिबन्धहरू लगाउने बताएका थिए। उनले यदि यस्ता उपायहरू समयमै सुरु गरिए रुसको प्रतिरक्षा क्षमता कमजोर बन्ने दाबी गरेका थिए।