उपचार अभावमा साउदीको कोठामा छट्पटाइरहेका युवाको श्रम मन्त्रीको पहलपछि उद्धार

काठमाडौं । शनिबार सामाजिक संजालमा एक भिडियो भाइरल भयो । जसमा साउदी अरेवीयमा उपचारको अभावमा एक युवा कोठामा छट्पटाइरहेका थिए । उनी थिए जाजरकोटका आइस राना । यो भिडियो भाइरल भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उनका सम्बन्धमा चासो लिए । साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका रानाको उपचार र उद्धारमा मन्त्री श्रेष्ठले नै चासो देखाएपछि साउदी अरेबियास्थित नेपाली दूतावास तात्तियो ।

आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उनी रहेको स्थानमा गएर उनको अवस्थाबारे जानकारी लिएका छन् । श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ । नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो । आठमध्ये एकजना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलवार नेपाल फर्कने भएका छन् ।


रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । उनीमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ । उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताएका छन् । रानाको अवस्था अहिले सामान्य छ ।