काठमाडौं । ग्रिसमा दुर्घटनामा परि अलपत्र अवस्थामा रहेका दुई नेपालीको शव गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालले ७ हजार २०० युरो संकलन गरि ग्रिस पठाइएको जानकारी गराएका छन् । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका(३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका-५ तनहुँका ओम भनिने उमबहादुर थापामगरका परिवारजनले शव पठाउन सहयोगका लागि एनआरएनएको सहयोग मागेका थिए । टर्कीसम्म श्रम स्वीकृत लिएर आएका अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको छ ।
भीमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जानकारी गराएको छ । बाँकी दुईजनाको शव नेपाल पठाउन एनआरएनएले रकम संकलन गरेको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबाट २ हजार डलर, एनआरएन वैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर, संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, आरके शर्मा ५ सय डलर,राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आएसँगै रकम जुटेको हो ।