काठमाडौं । आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक हुँदैछ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न कार्यक्रम राखेको छ । जनगणना कात्तिक २५ बाट मंसिर ५ सम्म चलेको थियो । तीन महिना भित्र जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना अनुसार आज प्रारम्भिक नतिजा आउन लागेको छ ।
जनगणनाका सबै विवरण भने आगामी दुई वर्ष भित्र सार्वजनिक हुनेछन् । नेपालमा जनसंख्याको वृद्धिदर तुलनात्मक रुपमा घटेको पाइएको छ । सोही अनुसार नतिजा आउने अपेक्षा गरिएको छ । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने भएको छ । प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक हुनेछ ।