काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ ।
विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।
नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।
जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो।
यस्तै सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।
नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।
विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।
आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।