राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सात वटै प्रदेशको नतिजा आएको छ । जसमा एक सिटमा एमाले विजयी हुँदा अन्य सिटमा भने गठबन्धनले स्वभाविक जित निकालेको छ । कुल १९ सिटका लागि ९ दलका ४३ जना उमेदवार भिडेका थिए ।

प्रदेश नं १ मा खुला तर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । नेकपा एमालेका गुरु बराल र उनको समान मतभार ४४८८ आएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथामा उनले बराललाई पराजित गर्दै गठबन्धन दल अन्तरगत कांग्रेसका उमेदबारका रुपमा विजयी भए । प्रदेश नं १ मा अल्पसंख्यकबाट नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए । उनले गठबन्धनमा जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ्लाई हराए । यस प्रदेशमा गठबन्धन दलबाट उमेदबार बनेकी नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई महिलातर्फ राष्ट्रियसभा सदस्यमा विजयी भइन् ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । मधेस प्रदेशमा दुई सिटका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ पाँच दलको संयुक्त उम्मेदवार नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका खालिद सिद्दिकी विजयी भए । उनीहरुले एमालेका उमेदवारलाई हराए ।


बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । अन्य समुहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र महिला समुहतर्फ नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिना निर्वाचित भए ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी भइन् । माओवादी केन्द्रका सुरेश आले मगर खुला र दलिततर्फ भुवन सुनार विजयी भए ।

लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भए । तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनका नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) की राज्यलक्ष्मी गैह्रे र राष्ट्रिय जनमोर्चका तुलबहादुर विश्वकर्मा विजयी भए ।


कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवार बिजयी भए । नेपाली कांग्रेसका दुर्गा गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा बिजयी भए ।


सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि बुधबार भएको निर्वाचनबाट सत्ता साझेदार दलका उम्मेदवार विजयी भए । खुलातर्फ नेपाली काङ्ग्रेसबाट कैलालीका नारायणदत्त मिश्र विजयी भए । महिला खुलातर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) विजयी भइन् । दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्की विजयी भए ।