काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अभियोग लागेको छ । उनले नेपाल प्रहरीमा जागिर खाँदा यस्तो कसुर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले बुधबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको छ ।
आयोगका अनुसार खड्का महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरीक्षकका रूपमा कार्यरत थिए । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खड्काले प्रहरीमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको देखिन्छ । त्यो प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ । आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।