काठमाडौं । दुई शक्तिशाली राष्ट्र बीचको तानातानीमा एक निरिह मुलुक चेपुवामा परेको छ । रुसले युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्न चाहन्छ । यदी बनेमा उसमाथि सैन्य कारवाहीको तयारी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेको बीबीसीले लेखेको छ । उनले वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने बताएका छन् । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने प्रस्ताव राखेका छन् र रुसले त्यसैलाई रोज्नुपर्नेमा उनको जोड छ ।
एकजना रुसी मन्त्रीले चाहिँ नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन्। यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो। त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो।
युक्रेनलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए सम्बन्ध टुट्न सक्ने चेतावनी समेत अमेरिकालाई रुसले दिइसकेको छ । रुसले युक्रेनको सीमा क्षेत्रमा हातहतियारसहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ। अमेरिकाले पनि साढे ८ हजार सैनिक तयारी हालतमा रहेको बताएको छ ।