नेपाल र भारतबिच सातामा ५६ उडान गर्ने बाटो खुला

File Photo

काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप गर्न बाटो खुलेको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या थप गर्न पठाएको प्रस्तावमा भारत सरकारले यसैसाता सहमति दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर बबल स्कीमका शर्त कायम राख्दै उडान संख्या थप गर्ने सहमति जुटेको छ । भारत सरकारले ३१ फेब्रुअरीसम्म यो स्किम कायम राखेको छ ।

भारतले ओमिक्रोनको फैलावटसँगै जनवरी २०२२ भर एयर बबल स्कीममा शुरुवातमा दिएका उडान अनुमति मात्र कायम राखी अन्य उडान अनुमति रोकेको थियो । सोही अनुसार दुबै मुलुकका ध्वजाबाहक कम्पनीले दैनिक एक/एक उडान गर्दै आएका छन् ।

अब निजी कम्पनीले समेत नेपाल र भारतमा उडान गर्न सक्ने भएका हुन् । भारतको निजी लगानीको भिस्तारा एयरले नेपालमा १६ फेब्रुअरी (४ फागुन)बाट दिल्ली-काठमाडौं-दिल्ली रुटमा उडान गर्ने गरि मिति तोकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतबाट तीन वटा कम्पनीले उडानका लागि नेपालसँग अनुमति मागेका छन् । यसमा एयर इण्डिया, भिस्तारासहित इण्डिगो एयर रहेको छ । एयर इण्डिया र भिस्ताराले दैनिक एक/एक र इण्डिगो एयरले दैनिक दुई उडानको अनुमति मागेका छन् । यो भारतीय कम्पनीले नेपालमा पाउने अनुमति संख्या साताको २८ उडान बराबर हो । नेपालबाट भारतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको छ । तोकिएको उडान संख्या भित्र अब नेपाल एयरलाइन्सले समेत उडान थप गर्न सक्ने छ । विगतमा नेपाल एयरलाइन्सले मुम्बई र बैलौंरमा उडान गरिरहेको थियो ।

एयर बबल स्कीम अनुसार एक अर्का मुलुकका नागरिकले तोकिएको कोभिड प्रोटोकलका प्रावधान पुरा गरि यात्रा गर्न सक्छन् । यी उडानमा तेस्रो मुलुकका पर्यटकलाई भने यात्राको अनुमति छैन । तर, कुटनीतिक नियोग र सम्बन्धित मुलुकले अनुमति दिएका तेस्रो मुलुकका नागरिकले भने यात्रा गर्न सक्छन् । ३१ फेब्रुअरीसम्म निजी कम्पनीले समेत यसै प्रावधान भित्र रहेर उडान गर्नुपर्नेछ ।