भारतीय ध्वजावाहक ७० वर्षपछि फेरि टाटाको हातमा, बजार हिस्सा १३.३ प्रतिशत

काठमाडौं । करिब ७ दशकपछि भारतीय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपको हातमा आएको छ । बिहीबार भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले स्वामित्व टाटा ग्रुपलाई हस्तान्तरण गरेको हो ।

सन् १९३२ मा एयर इन्डिया तत्कालीन टाटा ग्रुपका अध्यक्ष जेआरडी टाटाले स्थापना गरेका थिए । उक्त समयमा यो एयरलाइन्सको नाम टाटा एयरलायन्स रहेको थियो । जसलाई पछि सन् १९५३ मा भारतीय सरकारले अधिग्रहण गरेको थियो । घाटामा डुबेपछि उक्त एयरलाइन्स लिलामीमार्फत फेरि टाटा समूहले आफ्नो हातमा ल्याएको हो ।

भारतीय एयरलायन्स इन्डष्ट्रिमा एयर इन्डियाको बजार हिस्सा १३.३ प्रतिशत रहेको छ । नुनदेखि सफ्टवेयरसम्म बनाउने टाटा ग्रुपले भारतीय सरकारले लिलाम गरेको एयर इन्डिया १८ हजार करोड भारुमा पाएको हो । यो रकम प्रतिस्पर्धीहरुको भन्दा २ हजार ९०० करोड बढी थियो । टाटा ग्रुपले एयर इन्डिया खरिद गर्नका लागि २ हजार ७०० करोड नगद हालेको छ भने बाँकी १५ हजार ३०० करोड एसबीआई बैंकको नेतृत्वमा कन्सोल्टीएम बैंकहरुले लगानी गरेका छन् । अब एयर इन्डियाको स्वामित्व लिइसकेपछि पनि टाटा ग्रुपले हजारौं करोड थप लगानी गर्नुपर्ने आवश्यकता रहेको छ ।

भारत सरकारले निरन्तर घाटामा रहेकोले एयर इन्डिया विक्री गरेको हो । सन् २०२१ को अगस्टसम्म एयर इन्डिया ६१ हजार ५६३ करोड ऋणमा फसेको थियो । जसमध्ये ४६ हजार २६२ करोड स्पेशल पर्पोज भेहिकलमा सारिएको हो भने बाँकी रकम टाट ग्रुपले तिरेको हो । भारत सरकारले गत एक दशकमा मात्रै एयर इन्डियामा १ लाख करोडको लगानी गरेको थियो । यो एयरलायन्समा प्रतिदिन २० देखि ३० करोड घाटा हुने गरेको जनाइएको छ । तर सधैं घाटामा मात्र रहेकाले भारत सरकारले यो एयरलायन्स विक्री गरेको हो ।

टाटा ग्रुपले यस अघिनै दुई वटा एयरलायन्समा लगानी गरिरहेको छ । भारतको फुलफ्लेज एयरलायन्स भिस्तारामा टाटा ग्रुपको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, एयर इन्डिया एशिया नामको अर्को बजेट एयरलायन्समा पनि टाटा ग्रुपको ८४ प्रतिशत स्वामित्व रहेको छ । भारतीय हवाई बजारमा भिस्ताराको हिस्सा ८.२ प्रतिशत र एयर एशिया इन्डियाको ४.४ प्रतिशत रहेको छ । अब टाटा ग्रुपको भारतीय हवाई बजारमा कुल हिस्सा २५ प्रतिशतभन्दा धेरै पुग्नेछ ।

करिब १० हजार कर्मचारी र १४१ वटा विमान रहेको एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसमा अब टाटा ग्रुपले केकस्तो सुधार गर्ने हो आगामी दिनले बताउनेछ । एयर इन्डियाको खरिदसँगै टाटा ग्रुपसँग अब ४ हजार ४०० वटा आन्तरिक र १ हजार ८०० वटा विदेशी ल्यान्डिङ र पार्किङ स्लट पनि पाउनेछ ।

भारत सरकारसँग भएको सम्झौता अनुसार टाटा ग्रुपले १ वर्षसम्म कर्मचारी कटौती गर्न पाउने छैन । टाटा ग्रुप टाटा सन्स अन्तर्गतको कम्पनी हो । टाटा सन्सको ६६ प्रतिशत स्वामित्व सामाजिक ट्रष्टहरुको रहेको छ । जसले कमाइको ठूलो हिस्सा शिक्षा, स्वास्थ्य, पर्यावरण आदि क्षेत्रमा लगानी गर्दछ ।

विश्वको तेस्रो ठूलो हवाई उद्योग रहेको भारतमा प्राय सबै एयरलायन्सहरु घाटामा रहेका छन् । भारतले आन्तरिक हवाई उद्योग वार्षिक करिब २ लाख २५ हजार करोडको रहेको छ । यसका बाबजूद पनि विगत ७ दशकमा ६० वटा एयरलायन्सहरु बन्द भइसकेका छन् । किंगफिसर, एयर साहारा, जेट एयरवेज, डेक्कन एयर पछिल्ला दशकमा बन्द भएका वा अन्यमा विलय भएका एयरलायन्स हुन् ।