काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फ्रन्ट लाइनमा खटिने कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने भएका छन् । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको छ । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न पाउने छन् ।
उक्त कार्य भए, नभएको भने वरिष्ठ अध्यागमन अधिकृतले अनुगमन गर्नेछन् । मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने गरी सूचना जारी गरिएको हो । अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र प्योग गर्न पाइने भएको छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्ने भएको छ ।
प्रशासनले कर्मचारीलाई अफिसियल सिम र मोबाइलको व्यवस्था मिलाउने र अध्यागमन डेस्क अफिसरबाहेकका कर्मचारीले भने अध्यागमनको काम कारवाहीलाई नियमन गर्न व्यक्तिगत तथा सरकारी फोन प्रयोग गर्न सक्ने गरि निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ