माधव नेपालले भने : वैशाखमा चुनाव भएपनि सामना गर्न तयार छौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमा भएपनि पार्टी त्यसको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराउने बताए । चुनावसँग समाजवादी पार्टी नआत्तिएको भन्दै उनले भने, ‘चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं ।’

उनले स्थानीय तहको पहिले भएपनि केन्द्रीय चुनाव पहिले भए पनि सामना गर्न तयार रहेको बताए । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही मितिमा चुनावमा जान आफूहरु तयार रहेको बताए । अध्यक्ष नेपालले २०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखेका हुन् ।