न्यूयोर्क । अमेरिकामा भारी हिमपातपछि ५ राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपात भएको हो । अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका छन् । हिमपातले सडक, विद्युत र हवाई उडान अवरुद्ध भएको अन्तरर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । शुक्रबारदेखि आइतबारसम्म करिब ६ हजार उडानहरु रद्ध भएको बीबीसीले उल्लेख गरेको छ ।
नोइस्टर भनेर चिनिने हिम आँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै ६१ सेन्टिमिटरसम्म हिउँ जमेको छ । म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ । म्यासाचुसेट्समा केप कोड क्षेत्र बढी प्रभावित छ । यो आँधी क्यारोलिनासदेखि मेनसम्म फैलिने आशंका गरिएको छ । चिसो हावा समुद्रको तातो हावासँग मिसिदा वायुमण्डलमा नयाँ चापीय प्रणाली विकसित भई ‘बम्ब साइक्लोन’को सम्भावना रहेको छ ।
यसले तटीय क्षेत्रमा बाढी नित्याउन सक्ने सम्भावना रहेको चेतावनी विज्ञहरुले दिएका छन् । बोस्टनको राष्ट्रिय मौसम सेवाले अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन भनेको छ । यसअघि सन् २०१६ मा अमेरिकाको पूर्वी क्षेत्रमा आएको हिमआँधीमा परि १७ जनाले ज्यान गुमाएका थिए ।