सोलुखोला जलविद्युत आयोजनामा तीन दिन देखि बेपत्ता मजदुर मृत फेला

file

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि फेला परेको छ । ८६ मेगावाटको यो हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए ।

अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन हाइड्रोपावरमा एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इञ्जिनियरको ज्यान गएको थियो ।