काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा अपेक्षित उन्नती हुन नसक्नुमा राजनीतिको दोष रहेको बताएका छन् । विकासमैत्री नीतिको अभाव रहेको भन्दै उनले यस्तो बताएका हुन् । आइतवार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको उल्लेख गरे । विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव देखिरहेको भन्दै मन्त्री शर्माले ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेको बताए ।
उनले संविधानअनुसार देशको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको समेत उल्लेख गरे । सबै समस्याको जड राजनीति भएको भन्दै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा देशलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिबद्धता पनि व्यक्त गरे ।
छलफलमा विज्ञहरूले तथ्याङ्कका आधारमा देशको अर्थतन्त्र धराशायी भइ नसकेको बताए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाव दिए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव रहेको थियो ।
यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझावसमेत विज्ञहरूले दिए । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा.दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा.रामकुमार फुयाललगायत उपस्थिति थियो ।