खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

काठमाडौं । सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकका लागि कोभिडविरुद्ध खोप अनिवार्य गरेसँगै भएको विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। बीबीसीका अनुसार राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।

रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू निन्दनीयभन्दा पनि माथि भएको बताएकी छिन् । ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई अपवित्र पारेको बिषयमा अनुसन्धान थालिएको जनाएको छ। उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको धम्कीू र गरिएको धम्कीपूर्ण व्यवहारूको पनि अनुसन्धान गरिरहेको बताएको छ ।

ट्रक चालकले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्। उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए। सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन्।

क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्। कतिपय प्रदर्शनकारीहरूले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन्।

प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई सानो सङ्ख्याका अल्पसङ्ख्यक भनेका थिए। कन्जरभेटिभ नेता एरिन ओटूलले केही प्रदर्शनकारीहरूलाई भेटेका छन् र शान्तिपूर्ण प्रदर्शनको अधिकारको पक्षमा बोलेका छन्। तर उनले ओटावामा रहेका स्मारकहरूको अपमान गर्ने व्यक्तिको आलोचना गरेका थिए ।

टूडोको लिबरल सरकारले जनवरी १५ मा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो। त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ। अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ।