एमसीसीको बाहनामा गठबन्धन नटुटोस, छिटो पास गरौं : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहनामा गठबन्धन टुट्न नहुने बताएका छन् । आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने समेत उनको भनाई छ । सोमबार सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले सर्वसम्मतीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’ उनी अगाडी लेख्छन्, ‘एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्, देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका लागि सत्ता गठबन्धन टुटाउने चेतावनी दिएको खबर बाहिरिएको छ । एमसीसी जस्ताको तस्तै पास हुन नहुने अडानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी छन् । एमालले भने गठबन्धन फुट्ने अवस्थामा कांग्रेसलाई साथ दिने संकेत गरिसकेको छ ।