काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको ब्याजदरमा कडाई गरेसँगै अब किस्तामा गाडी किन्दा मूल्य बढी पर्ने भएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ को तेस्रो संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो। जसमा औसत ब्याजदर अन्तर ४ प्रतिशत भन्दा बढी नहुने गरी निर्धारण गनुपर्ने व्यवस्था भएको छ । हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३० करोड हुनु पर्ने ब्यवस्थालाई निरन्तरता दिइएको छ ।
हायर पर्चेज कम्पनीले निजी तथा सार्वजनिक यातायातका साधन बिक्री वितरण गर्छन्। साथै मेसिन, इक्विपमेन्टको बिक्री समेत यी कम्पनीबाट हुन्छ । यस अघि यो दर ३ प्रतिशत मात्र थियो । यस संगै अब किस्ताबन्दीमा गाडी खरीद गर्दा महंगो हुने भएको हो । अब कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस अघि यो सीमा तोकिएको थिएन।
अब भने नयाँ गाडी खरीद गर्दा न्युनतम २० प्रतिशत रकम सुरु मै तिर्नु पर्ने छ । यस अघि शुन्य प्रतिशत किस्ताबन्दीमा पनि कम्पनीहरुले अफर ल्याएका थिए । यी कम्पनीहरूले अब अर्धवार्षिक नभई त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेस गर्नुपर्ने भएको छ ।