नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि बन्ने भयो मोटरबेल पुल

काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पहिलो मोटरबेल पुल बनने भएको छ । यसका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मंगलबार भौतिकमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतीय राजदूत क्वात्राले नेपाल–भारतबीच जनस्तरमै सम्बन्ध रहेको भन्दै पुल निर्माणले समुदायमा थप सहयोग पुग्ने बताए ।

भारतले नेपालको पूर्वाधार विकासमा लामो समयदेखि सहयोग गर्दै आएकामा धन्यवाद दिँदै मन्त्री यादवले पुल निर्माण छिटो सक्न दुवै देशका सम्बद्ध अधिकारीलाई अनुरोध गरेकी छिन् । पुल निर्माण भएपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने छ । यसले दुवैतर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने पनि भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकतासाथ अघि सारेको सीमापार कनेक्टिभिटीअनुरूप रहेको भारतको भनाई छ । भारतको उत्तराखण्ड राज्य सरकारको अनुदान सहयोगमा पुल बन्न लागेको मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव केशवकुमार शर्माले जानकारी गराए । पुल ११० मिटर लामो बन्नेछ । । लागत ४० करोड रुपैयाँ अनुमान गरिएको छ । ठेक्का भएको तीन वर्षभित्र निर्माण सकिसक्नुपर्ने शर्त राखिएको छ ।