काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थल राती दैनिक साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्मका लागि बन्द हुन लागेको हो ।
विमानस्थलको धावनमार्गको पीच परिवर्तन गर्ने योजना अनुसार विमानस्थल ७ घण्टा बन्द हुन लागेको हो । १५ असारबाट २१ घण्टा खुलेको विमानस्थल फेरी बन्द गर्न लागिएको हो ।
विमानस्थल तीन महिनासम्म स्तरोन्नती हुने र त्यसपछि २४ सै घण्टा खुला गर्ने योजना रहेको छ । धावनमार्गसहित ट्याक्सीवे र अन्य पूर्वाधार स्तरोन्नति गर्न यो अवधिमा विमानस्थल बन्द गर्न लागिएको हो ।
त्यस अवधिमा ट्याक्सी वे, लाइट मर्मत तथा अन्य बाँकि काम सम्पन्न हुने भएको छ । यस अवधिमा मंगलबार, बिहीबार र शनिबार भने नेपाल एयरलाइन्सको जापान उडानको समय पर्छ ।
त्यससमय भने विमानस्थल आधा घण्टा खुल्नेछ । नेपाल एयरलाइन्सको जापान उडान राती साढे २ बजे रहेको छ ।
यसैबीच, कतारबाट आइतबार बिहान आएको कतार एयरवेजको जहाजमा चराको प्वाँख देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।
चरा ठोक्किएर जहाजको इन्जिनमा क्षति पुगेको आशंकासहित जहाज ग्राउण्डेड गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
कतारबाट इन्जिनियर मगाएपछि मात्र उक्त जहाज उड्ने भएको हो । त्रिभुवन विमानस्थल चराको उच्च जोखिममा रहेको छ ।