चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो ।

सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो ।

दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि प्रहरी त्यो चिनियाँ समूहसम्म पुर्यायो, जसले नेपालका एटीएम बुथबाट करोडौं रुपैयाँ निकालिसकेको थियो ।

चतुर चिनियाँ ह्याकरले केही समयको अन्तररालमा पक्राउ गर्न गर्ने काममा बैंकका कर्मचारीले पनि उत्तिकै सहयोग गरे ।

प्रहरीले आइतबार दिउसो पत्रकार सम्मेलन गरी एटीएम सिस्टम ह्याक गरी पैसा चोर्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाको बेलिबिस्तार समेत सोही समयमा सार्वजनिक गरेको छ । कूल रकम कति चोरी भयो भन्ने बारेमा एकिन तथ्यांक भने सार्वजनिक गरिएको छ ।

एउटा बैंकको एटीएममा अर्को बैंकको भिसा कार्ड प्रयोग गरी पैसा निकालेको पाइएको प्रहरीले पत्रकार सम्मेलनका दौरान जानकारी दियो ।

प्रहरीका अनुसार दरबारमार्ग र यस आसपासका विभिन्न एटीएम बुथमा सामान्य दिनभन्दा शनिार धेरै पैसा निकालिएको थियो । सोहीकारण बैंकका कर्मचारीलाई शंका लाग्यो ।

उनीहरुले प्रहरीलाई खबर गरे । त्यसपछि महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।

जब प्रहरीले नबिल बैंकको एटीएमबाट एक जनालाई पक्राउ गर्यो, उनकै सहायतामा प्रहरी टोलीसमक्ष पुग्न सफल भएको हो ।

ती व्यक्तिले होटेलको चावी प्रहरीलाई देखाएपछि उनीहरु बसेको होटेल हात्तिसारस्थित माया मनोहर बुटिक होटेलमा प्रहरी पुग्यो ।

प्रहरी पुगेको खबर पाएपछि लिफ्टबाट भाग्दै गरेका अन्य ४ चिनियाँ पनि प्रहरीको फन्दामा परे । उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरेको उक्त अवसरमा जानकारी दियो ।

त्यसबाहेक ९ हजार १ सय ८ अमेरिकी डलर, ११ सय ९१ चाईनिज मुद्रा, २ सय ५० यूरो, ५ हजार क्याम्बोडियन साथै ८० हङकङ डलरसमेत बरामद गरेको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

उनीहरुको साथबाट १३२ थान नक्कली भिसा कार्ड, १७ थान सक्कली भिसा कार्ड, कार्ड प्रिन्टर मेसिन १ थान, ६ थान मोबाईल, ल्यापटप, डाटा कार्ड लगायतका सामान पनि बरामद भएको प्रहरीको भनाई छ ।

चीनमै योजना बनाएर उनीहरु नेपाल आएका र ठूलो रकम कुम्ल्याएर भाग्ने दाउमा रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरु १३ भदौमा नेपाल आएको खुलेको छ ।

आइतबार एकाएक एटीएम सिस्टम ह्याक भएको खबर सार्वजनिक भएपछि सर्वसाधारणमा भने आफ्नो रकमको सुरक्षाको चिन्ता बढेको छ ।

उता, बैंकरहरुले भने सर्वसाधारणको रकम सुरक्षित हुने भन्दै नआत्तिन आग्रह गरेका छन् । शनिबार घटनालगत्तै सबै बैंकको एटीएम बन्द गरिएको थियो ।

आइतबार भने एक बैंकको एटीएमबाट अर्को बैंकको रकम निकाल्न नमिल्ने गरी सबै एटीएम सूचारु भइसकेको छन् ।

नेपालमा पहिलो पटक बैंक एटीएम सिस्टम नै ह्याक गरी यति ठूलो रकम चोरी भएको हो । बैंकका कर्मचारीको सुझबुझपूर्ण निर्णय र प्रहरीको सक्रियताले ठूलो आर्थिक दूर्घटना हुनबाट भने नेपाल जोगिएको छ ।