मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला

काठमाडौं । बिहिवार ललितपुरको गोदावरी नगरपालिकास्थित  थेंचोमा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार यो घटना केही दिन अगाडि मोरङमा भेटिएका दुई शवको हत्याकाण्डसङ्ग जोडिएको प्रहरी स्रोतले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको हो।

गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको शव भेटिएको छ । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको शव गलाउन २५/३० प्याकेट नुन समेत हालेको पाइएको प्रहरीले जनाएको छ । मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डल नाम गरेका व्यक्तिलाई पक्राउ गरेको समाचार छ । उनकै बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला पारेको हो । लिम्बुको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको पाइएको छ । मोरङमा समेत शवको प्रकृति यस्तै पाइएको थियो ।
लामो समय प्रि–प्राइमरी स्कुल रहेको यो घरमा अहिले भमे मान्छे नबस्ने खुलेको छ । पक्राउ परेका अनिल यी तीन जनासङ्ग मिलेर घर जग्गा कारोबार गर्ने व्यवसायी भएको समेत प्रहरीको अनुसन्धानबाट खुलेको छ ।