फेसबुकलाई खतराको घण्टी, १८ वर्षमा पहिलो पटक दैनिक प्रयोगकर्ता घटे

FT

न्यूयोर्क । विश्वको अग्रणी सामाजिक सञ्जाल फेसबुकलाई टाउको दुखाउने एक खबर बिहीबार सार्वजनिक भएको छ । खबर अनुसार फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ। फेसबुकको माउ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो। त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो।

मेटाले टिकटक र यूट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लग्दा आफ्नो आम्दानी कम हुनसक्ने चेतावनी समेत दिएको बीबीसीले उल्लेख गरेको छ। उक्त विवरण आएको केही घण्टापछि न्यूयोर्कमा मेटाको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो। उक्त गिरावटले कम्पनीको मूल्यमा करिब २०० अर्ब डलर ह्रास आएको छ। ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यमहरूमा युवाहरूको आकर्षण बढ्नु भएको बताएका छन् ।

गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्ल्याटफर्मको स्वामित्व मेटामा रहेको छ। उसले एपलको अपरेटिङ सिस्टमले लागु गरेका गोपनीयतासम्बन्धी परिवर्तनहरूले पनि आफूलाई प्रभाव पारेको जनाएको छ। एपलको परिवर्तनले ब्रान्डहरूलाई आफ्ना लक्षित समुदाय पहिचान गर्न एवम् फेसबुक र इन्स्टाग्राममा गरिएका आफ्ना विज्ञापनको मापन गर्न गाह्रो बनाएको थियो।

मेटाको कूल आम्दानीको अधिकांश हिस्सा विज्ञापनबाट आउँछ र त्यो उक्त अवधिमा बजारको अनुमानभन्दा विपरित ३३ अर्ब ६७ करोड डलर पुगेको थियो। आगामी त्रैमासिकमा सो आम्दानी २७ अर्ब डलरदेखि २९ अर्ब डलरको बीचमा हुने र त्यो विज्ञहरूले अपेक्षा गरेभन्दा कम रहेको बताइन्छ। मेटाले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्व रहेको टिकटकसँग प्रतिस्पर्धा गर्न भिडिओमा लगानी गरिरहेको छ।