आइएसका नेता कुरिशीले आफैलाई बमले उडाएको खुलासा

काठमाडौं । इस्लामिक स्टेट (आइएस)का नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आफुले आफैलाई बमले उडाएको पाइएको छ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले पुष्टी गरेका छन् । बीबीसीका अनुसार अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएका थिए । उनले आफू र आफ्नो परिवारका सदस्यको ज्यान लिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन्। गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए। त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको अमेरिकाको दावि छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी गराएका छन् ।

इब्राहिमको अन्त्यले विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको बाइडनको भनाई छ । अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन्। आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन। टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको हो ।