कमल थापाको चेतावनी-‘ तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको विकल्प छैन्’

काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

सोमरबार चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफुपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् ।

‘स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,’ थापाले आफू निकट नेताहरुलाई सम्बोधन गर्दै भने ।

उनले समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए । अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापा पार्टीको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका छन् ।

उनले चुनावपछि निरीह र लाचार भएर बस्नुको विकल्प नहुने भन्दै त्यसपहिले नै समस्याको समाधान गर्नुपर्ने बताए । भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।