बाइडनले दाहोर्याए रुसलाई ग्यास पाइपलाइन बन्द गराइदिने धम्की

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमा हमला गरे जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने धम्की पुनः दाहोरयाएका छन् । जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे यस्तो बताएको बीबीसीले लेखेको छ । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडन र सोल्जबीच भेटवार्ता भएको हो । अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको समेत बताएका छन्।


पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ। उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत माग राखेको छ । रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ। रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघिदेखिएको हो। जतिखेर रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नोमा गाभेको थियो। बाल्टिक क्षेत्रको एउटा मुख्य ग्यास पाइपलाइन नर्ड स्ट्रिम टू बन्द गर्न पश्चिमा देशले जर्मनलाई दबाब दिइरहेका छन् ।