बुद्ध एयरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा

File

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएपछि यस विमानस्थलबाट ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । योजना अनुसार पोखराबाट कम्पनीले भारतको विभिन्न गन्तव्यहरुमध्ये सुरुवातमा नयाँदिल्ली, देहरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।

पोखराबाट धौलागिरिदेखि सगरमाथासम्म हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य सहरहरुसँग आवश्यकता अनुसार दैनिक सिधा उडान गर्ने समेत घोषणा कम्पनीले गरेको छ । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने भन्दै यसलाई सच्याउन समेत कम्पनीले माग गरेको छ ।

हाल निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वरपश्चिम ‘रन–वे’को पश्चिम ‘रन–वे’ लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिममा ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ले जोडिएको छैन ।

यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडान हुने भन्दै सच्याउन समेत माग गरेको छ । बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’लाई पूर्वको ‘रनवे’को अन्त्यसम्म तुरुन्तै जोड्न आग्रह गरेको हो ।