काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती महिनाबाटै रेमिट्यान्स भित्रने क्रम शुरु भएकोमा छैठौं महिनासम्म समेत सोही प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा कुल ४ खर्ब ६८ अर्ब ४५ करोड मात्र रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या भने उल्लेख्य बढेको छ । यस अवधिमा कुल १ लाख ६७ हजार ५१३ ले यस्तो श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८९ प्रतिशतले घटेको थियो ।