काठमाडौं । चार देशीय टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएसँगै नेपालले ३ बल अगाडी नै लक्ष्य भेटायो । यससँगै नेपालका नयाँ कप्तान सन्दीप लामिछानेले कप्तानी डेब्यु जितबाट गर्न सफल भए ।
आजको खेलमा नेपालका स्पीनर सागर ढकाल र अलराउण्डर विवेक यादवले समेत टी २० आईमा डेब्यू गरेका छन् । आजको खेलमा आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए । टस हारेर ब्याटिङ गरेको ओमानले २० ओभरमा १३५ रन जोड्यो ।
ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए । नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।