खप्तड र बडिमालिका घुम्न हेलिकोप्टर टूर प्याकेज सार्वजनिक

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशले नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँग सहकार्य गर्दै फागुन १ देखि सुदूरपश्चिमका खप्तड, बडिमालिका लगायत क्षेत्रमा टुर प्याकेज सार्वजनिक गरेको छ । नाटाका सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य यति बेला हिउँले सेताम्मे रहेकाले उक्त क्षेत्रको भ्रमण गर्ने चाहना भएका तथा समय अभावका कारण जान नसक्नेहरूका लागि यस्तो कार्यक्रम ल्याइएको जानकारी दिए ।

१० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ । प्याकेजमा खप्तड घुम्न चाहनेलाई दिपायल विमानस्थल, झिग्राना धनगढी, महेन्द्रनगर र साँफेबगरबाट हेलिकोप्टरले लैजाने र ल्याउनेछ । घुमफिरमा जाने यात्रुहरूले स्थानका हिसाबले प्रतिव्यक्ति १२ हजारदेखि ४० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ । सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यस कार्यक्रममा भारतीय पर्यटकसमेत सहभागी हुने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताए ।

कोभिडले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन कार्यक्रम सहयोगी हुने बोर्डका सदस्य कृष्ण शाहको भनाइ छ । कार्यक्रमले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले बताए ।
नाफाभन्दा पनि सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लागत मूल्यमै आफ्नो कम्पनीले टुर प्याकेज ल्याएको माउन्टेन हेलिकोप्टरका महाप्रबन्धक दिलबहादुर ओलीले जानकारी दिए ।