काठमाडौं । चारदेशीय टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले हारेको छ । ओमानको मस्कटमा सम्पन्न खेलमा युएईले नेपाललाई १९३ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रनको योगदान दिए ।
पहिलो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ६ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि लक्ष्य ठूलो भएका कारण भेटाउन सम्भव भएन । युएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २÷२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाउँदा युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित ८४ रन जोडेका थिए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले एकएक विकेट लिए ।