सिनेमा हल र रात्रिकालिन व्यवसाय खुल्ने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण बन्द रहेका रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, डान्स बार, र सिनेमा हलसहितका व्यवसाय आजबाट चलाउन पाइने भएको छ । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिसमा डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्न सकिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित भई जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सकिन्छ । सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरे अनुसार आजबाट संचालन हुन लागेका हुन् ।