न्यूयोर्क
दक्षिण एसियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्तर्गत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट्स, पूर्वी एल्महर्ष्ट र उडसाइड अन्तर्गत ३४ नम्बर डिष्ट्रिक्टबाट उम्मेदवार हुने घोषणा गरेका छन् । नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एसियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होम्मिएका छन् । प्रगतीशिल युवा उम्मेदवार मानिने ३५ बर्षिय चौधरी अमेरिकन आर्मीमा कार्यरत छन् । राजनीतिक रुपमा बिद्यार्थी जीवनकालदेखि नै खारिएका चौधरी ल-ग्वार्डिया कलेजमा बिद्यार्थी समुहको अध्यक्ष थिए । यस्तै चौधरीसंग कुइन्स काउन्टी योङ डेमोक्र्याट समुहको कोषाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । उनले २२ डिष्ट्रिक्टका काउन्सिल म्यान कोष्टा कोन्स्टानटिनिजडेजको कार्यालयमा समुदाय समन्न्वयकर्ता रहेर काम गरेका छन् । चौधरीले सन् २०१५ मा न्युयोर्क राज्यमा गभर्नर कुमोको कार्यालयबाट बिद्यार्थीहरुले अतिरिक्त कक्षाको रकम घटाउनुपर्ने माग राखि गरेको आन्दोलनको नेतृत्व समेत गरेका थिए । साउथ एसियन मुलुकबाट अमेरिका आई बसोबास गर्नेहरुलाई एकिकृत गरेर चौधरीले भोटर एशोसियशनको समेत शुरुवात गरेका छन् । साउथ एसियन भोटर एशोसियशनका अध्यक्ष समेत रहेका चौधरी कुइन्स काउन्टीबाट उम्मेदवार भएकाले चुनाव जित्ने आंकलन गरिएको छ । एसियन अमेरिकन समुदायको ठुलो हिस्सा कुइन्स क्षेत्रमा बसोबास गर्दछन् । चौधरी एक सक्षम उम्मेदवार हुन् । एल्मष्ट हस्पिटल बोर्ड सदस्य यादव बास्तोला भन्छन्; “उनले चुनाव जितेमा हाम्रो आवाज अमेरिकी कानूनमा समावेश हुनेछ । यो ठुलो उपलब्धि समेत हुनेछ, चौधरी न्यूयोर्क राज्यको कानून निमार्ण गर्ने समितिको उम्मेदवार भएकाले साउथ एशियन समुदायलाई सहयोग पुग्नेछ । करिअरको शुरुवात ट्याक्सी ड्राइभरबाट गरेका चौधरीले चुनाव जितेमा न्यूयोर्क राज्यमै पहिलो हिन्दु समुदायका नेता हुनेछन्” । साउथ एशियन समुदायका मुद्धा जस्तै अध्यागमन, भाषा समस्या, बिद्यार्थीका लागि अतिरिक्त कक्षा सहयोग लगायतका बिषयमा सहयोग गर्दै आएका चौधरीले नेपाली समुदायको हितमा समेत काम गरेका छन् । चौधरीले नेपाली समुदायका लागि एल्महर्ष्ट अस्पतालमा नेपाली प्रतिनिधि नियुक्ती, माउन्ट एभरेस्ट सडकको नामकरण र ड्राइभिङ लाइसेन्स निवेदन नेपाली भाषामा दिन पाउने व्यवस्था लगायतका बिषयमा सिटी काउन्सिलसंग सहकार्य गर्दै सहयोग गरेका छन् । चौधरीलाई कुइन्स क्षेत्रका धेरै प्रगतीशिल नेताहरुको सहयोग रहेको जनाइएको छ । जिल्ला अधिवक्ता उम्मेदवार रहेकी टिफिनी कबानको चुनावका बखत समेत उनी सक्रिए भएर लागेका थिए ।