काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता शुरु भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना निकाल्दै निर्वाचनमा भाग लिन दल दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार बिहीबारबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने भएको छ । दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्नेछ ।
दल दर्ता गर्न निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ । विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।