सत्तारुढ दलको बैठकमा जुटेन सहमति, एमसीसीमा आ-आफ्नै अडान कायमै

File RSS

काठमाडौं । सत्तारुढ दलको बिहीबारको बैठकमा सहमति जुट्न नसकेसँगै सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा बढेको छ । बिहीबार प्रधानमन्त्री शेर बहादुर देउवाले बोलाएको सत्तारुढ दलको बैठकमा दलहरु आआफ्नो अडानमा अडिग रहे । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखे । उनीहरुले एमसीसीबारे थप छलफल जरुरी रहेको भन्दै यस्तो शर्त राखेका हुन् । उता कांग्रेसले भने शुक्रबार कुनै पनि हालतमा एमसीसी टेबुल गर्ने बताएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने बताएका हुन् । उनले ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ’ भन्दै कांग्रेसको अडान राखेका थिए ।