टी-२० विश्वकप छनोट : नेपालले आज अमेरिकी मुलुक क्यानडाको सामना गर्दै

काठमाडौं ।, आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर एमा नेपालले आज समूह चरणको अन्तिम खेल अमेरिकी मुलुक क्यानडासँग खेल्दैछ ।
खेल ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा हुने छ । नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे खेल शुरु हुने भएको छ । नेपालले यसअघि लगातार दुई खेल जितिसकेको छ । नेपाल समूहको शीर्ष स्थानमा छ । क्यानडा नेपालभन्दा कमजोर रहेका कारण उसलाई पराजित गर्ने अपेक्षा गरिएको छ । क्यानडालाई हराउन सके समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुग्नेछ ।

सेमिफाइनल चरण पार गरेमा भने नेपाल विश्वकपमा छनोट हुने छ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपाल क्यानडासँग हारेमा र ओमानले फिलिपिन्सलाई हराएमा तीन टोलीको समान अंक हुनेछ र त्यस अवस्थामा नेट रनरेटका आधारमा समूहबाट विजेता र उपविजेता छानिनेछन् ।