काठमाडौं । विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले बधाई दिएका छन् नेपालले सोमबार क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता ओमानमा जारी छ ।
ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘ओमानमा जारी टी–२० विश्व कप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना ।’
क्यानडालाई हराउँदै आईसीसी टी–२० विश्व कप ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बधाई दिएका छन् । उनले समेत सामाजिक सञ्जालबाट नेपाली क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले लेखेका छन्, , ‘क्यानडासँगको खेलमा जित निकाल्दै टी–२० विश्व कप ग्लोबल छनोट को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।’ उनले मंगलबारको खेलमा जितको शुभेच्छा समेत व्यक्त गरेका छन् ।