विश्वकप छनोटमा नेपाल तेस्रो बन्यो, ओमानविरुद्ध सानदार जित

काठमाडौं । आईसीसी टी २० ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो बनेको छ । अष्ट्रेलियामा आयोजना हुने टी २० विश्वकपमा छनोट हुन असफल भएको नेपालले बिहीबार आयोजक ओमानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । जहाँ नेपाल ९ विकेटको फराकिलो अन्तरमा विजयी भयो । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । आरिफ शेख २१ रनमा अविजित रहे । ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् ।

यस्तै, पूर्वकप्तान पारस खड्काले टी(२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ८७ रनमै रोकिएको थियो ।