काठमाडौं । रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ । भिडिओमा रुसी सैन्य वाहनहरू देखिएको बिबिसीले लेखेको छ । सरकारले नागरिकहरूलाई ‘मोलोटोभ ककटेल’ बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशभरि भएका हवाई आक्रमणहरूमा परेर कम्तीमा २५ गैरसैनिक नागरिकको मृत्यु भएको र १०२ जना घाइते भएका छन् । यूकेका रक्षामन्त्रीका अनुसार रुसका ४५० सैनिकको मृत्यु भएको दावी छ । युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् । युक्रेनका राष्ट्रपतिले रुसले आफूलाई सिद्ध्याएर युक्रेनलाई राजनीतिक रूपमा रुसले ध्वस्त पार्न चाहेको बताएका छन्
अघि बढिरहेका रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। किएभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए।
सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ।
यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८,००० थान मशीनगन प्रदान गरिएको जनाएको छ।