काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। गत फागुन १२ गतेका लागि बोलाइएको बैठक १३ गतेलाई र १३ गतेका लागि बोलाइएको बैठक आइतबारको लागि तोकिएको थियो।
बैठकको कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। ‘माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम ल्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने’, कार्यसूचीमा भनिएको छ।
२०७६ असार ३० गते दर्ता भएको प्रस्ताव गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा टेबल गरेका थिए।
सम्बन्धित मन्त्रालयका मन्त्री शर्मा भने त्यस दिन ‘बिरामी’ भएका थिए। यसअघि १२ गते सामान्य छलफलका लागि प्रस्तुत गर्ने भनी कार्यसूचीमा तोकिएको भए पनि मन्त्री शर्मा भने पर्वत गएका थिए। त्यसक्रममा उनले एमसीसी पारित हुन नदिने बताएका थिए।