काठमाडौं । एमसीसी सम्झौतामा संसद् बैठकमा छलफल हुने तय भएको दिन आज सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । आइतबार बिहानैबाट प्रहरीले संसद भवनलाई घेरा हालेको छ । आज पनि माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड प्रभावित हुने निश्चित भएको छ । एमसीसीको विपक्षमा काठमाडौंमा हरेक दिन आन्दोलन भइरहेको छ ।
तर, संसदमा छलफल गरि पास गर्ने तयारी समेत रहेका कारण आजको प्रदर्शन उग्र हुने सम्भावना रहेको छ । सम्भावित आन्दोलनलाई दृष्टिगत गरि काठमाडौं उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको बताइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीको थप फोर्स काठमाडौं बोलाएको छ । सत्ता गठबन्धन भित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्ना कार्यकर्तालाई सडकमा उतारेका कारण आन्दोलन चर्को बनेको हो । दलहरुबीच सहमति जुटेमा भने उनीहरु आज सडकमा आउने छैनन् ।