काठमाडौं । अमेरिकाले नेपालको संसदबाट पारित भएको व्याख्यात्मक घोषणालाई स्वीकार गरेको छ । अमेरिकी राजदूत र्याण्डी बेरीले प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले भन्दै आएको विषय भएको भन्दै अमेरिकाले स्वीकार गरेको संकेत गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा व्याख्यात्मक घोषणामा असहमति नरहेको बताएका मन्त्री खाँणको सचिवालयले उल्लेख गरेको छ ।
‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणा हामीले पहिल्यैदेखि भन्दै आएको विषय हो’ भेटमा राजदूत बेरीले राखेको धारणा उधृत गर्दै गृहमन्त्रीको सचिवालयले लेखेको छ । १५ फागुनमा प्रतिनिधिसभाले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । तर कतिपय दल र तिनका नेताहरुले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगर्ने टिप्पणी गरेका थिए ।
मन्त्री खाँणसँगको भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताएका थिए । गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन प्रतिपक्षमा हुँदा र अहिले सरकारमा हुँदा पनि दृढ रहेको बताए । ‘एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो’ उनले भने ।