नयाँ दिल्ली । रुस र युक्रेनबीच युद्ध हुरु भएको एक साताको अवधिमा १८ हजार भारतीय नागरिकले युक्रेन छाडेका छन् । भारतीय विदेश मन्त्रालयले यस्तो आंकडा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउन अपरेशन गंगा चलाइरहेको छ । अहिलेसम्म हरेक दिन न्यूनतम १५ वटा उडानबाट ३ हजार भारतीय नागरिकलाई भारत ल्याउने काम जारी छ ।
विदेशी नागरिकलाई युक्रेनका छिमेकी मुलुकहरुले शरण दिइरहेका छन् । युक्रेनमा एक जना भारतीयको ज्यान गएको पुष्टी भएको छ । भारतीय विदेश मन्त्रालयले जति सक्दो छिटो युक्रेन छाड्न समेत आफ्ना नागरिकलाई भनेको छ । किनकी युक्रेनमा अहिले हवाई उडानको सुविधा छैन । छिमेकी मुलुकमा पुगेका नागरिकलाई मात्र उद्धार गर्न सम्भव भएको हो ।