काठमाडौं । विश्वचर्चित अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन भएको छ । उनी मात्र ५२ वर्षका थिए । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको उल्लेख गरिएको संचारमाध्यमले लेखेका छन् । सूचनामा उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए ।
स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँत्याउन नसकिएको अस्पतालले जनाएको छ । उनी १५ वर्षसम्म अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका थिए । उनले टेष्ट क्रिकेटमा ७ सय ८ विकेट लिएका छन् । क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा छन् । पहिलो नम्बरमा भने श्रीलंकाली क्रिकेटर मुथैया मुरलिधरण रहेका छन् । उनको निधनमा विश्वभरबाट खेलप्रेमीले दुख व्यक्त गरिरहेका छन् ।