युक्रेन छाडेका नेपालीलाई भारत सरकारको सहयोगमा नेपाल ल्याउने तयारी

काठमाडौं । युक्रेनबाट बाहिर निस्किएका र युक्रेनमै रहेका नेपालीहरुलाई स्वदेश ल्याउन भारत सरकारको सहयोग मागिने भएको छ । युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडान मार्फत् स्वदेश फर्काइदिन नेपाल सरकारले अनुरोध गरेको हो । यसमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन केही मन्त्रीहरुसहित विमानहरू पठाएको छ ।

तीनै भारतीय विमानहरुमा स्वदेश फर्किन इच्छुक नेपालीहरुलाई पनि ल्याउने प्रवन्ध मिलाउने प्रयास गरिएको छ । स्वदेश फर्किन इच्छुक नेपालीलाई नेपाली दूतावास बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरु स्थानान्तरण भई सीमावर्ती मुलुकहरु पोल्याण्ड, स्लोभाकिया, रोमानिया, हंगेरी र मोल्दोभामा प्रवेश गरेका गरेका छन् ।

बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपालीहरु पोल्याण्डमा गएका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको र केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको र त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश र्फकन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली दूतावास बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ । उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको छ ।