काठमाडौं । दुई पर्यटकीय गन्तब्य पोखरा र जनकपुर सिधा हवाई सम्पर्कमा जोडिएका छन् । शनिबारदेखि जनकपुरधाम–पोखराबीच हवाइ यातायात सुरू भएको छ । मधेश र गण्डकी प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए ।
गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा आएका छन् । तीनदिने मधेस प्रदेशको भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरणमन्त्री शुत्रधन महतोले स्वागत गरेका थिए ।
भ्रमण टोलीमा मुख्यमन्त्री पोखरेलसहित अर्थमन्त्री रामजीप्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेललगायत सहभागी रहेका छन् ।