नेपाल एयरलाइन्सले साउदी अरबमा पायो उडान अनुमति, अप्रिलबाट नियमित उड्ने

काठमाडौं । साउदी अरब जाने र फर्कने यात्रुले अब नेपाल एयरलाइन्सको सेवा पाउने भएका छन् । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ । निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ ।