शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

REUTERS\BBC

काठमाडौं । साथिहरुसँग बिदा मनाउन थाइल्याण्ड आएका अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको शव अस्ट्रेलिया लगिएको छ । अस्ट्रेलिया सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने भएको छ । उनको मृत्युबारे आंशका भइरहेको समयमा थाईल्यान्डमा प्राकृतिक कारणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ५२ वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको एक वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

उनी बिदा मनाउन थाईल्यान्डको कोह सामुई टापु गएका थिए। तर गत शुक्रवार उनलाई मृत अवस्थामा फेला पारिएको थियो। थाई प्रहरीका प्रवक्ताले वार्नको परिवारलाई पोस्टमार्टमको प्रतिवेदन उपलब्ध गराइएको र उनीहरूले त्यसलाई स्वीकार गरेको बताएका छन्। उनकी पूर्वपत्नी सिमोन कालाहनबाट वार्नका तीन सन्तान छन्।