रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर

काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा पश्चिमा मुलुकले आर्थिक प्रतिबन्ध अझ कठोर बनाएका छन् । अमेरिका र बेलायतले रुसी तेलमा प्रतिबन्ध लगाउने भएका छन् । युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीूलाई नै प्रहार गर्ने बताएका छन्।

ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुने बीबीसीले लेखेको छ । उता, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्। रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा विध्वंसक नतिजा ल्याउने चेतावनी दिएको थियो।

उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ। अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो। बाइडनले भने, हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।