काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाउँदै यस्तो निर्णय गरेको हो । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जनगुनासो व्यापक आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताए । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृति जाँच गरि यात्रुलाई जहाजतर्फ पठाउने छन् । वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएसँगै सरकारले यस्तो निर्णय लिएको हो । विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने छन् ।